उपत्यकामा १७ लाख लिटर इन्धन वितरण

होमल्याण्ड खबर

२०७५ आश्विन ७ गते, आईतवार १३:३५ मा प्रकाशित

नेपाल आयल निगमले शनिबारका लागि काठमाडौं उपत्यकामा १७ लाख लिटर इन्धन वितरण गरेको छ । बजारमा इन्धनको आपूर्ति सहज पार्न निगमले शनिबार मात्र थानकोट डिपोबाट ८ लाख ५५ हजार लिटर पेट्रोल र ८ लाख ९५ हजार लिटर डिजेल वितरण गरेको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले बजारमा इन्धनको आपूर्ति सहज बनाउन शनिबार पनि पर्याप्त मात्रामा वितरण गरिएको जानकारी दिए । “इन्धनको लोड सुरु हुन थालेको छ,” उनले भने, “निगमसँग पर्याप्त मौज्दात रहेकाले पनि अभाव कम हुँदै जानेछ ।”

गत २ गतेदेखि ट्यांकर चालकले इन्धन ढुवानी नभएपछि बजारमा अभाव भएको थियो । इन्धन अभाव भएपछि पेट्रोल पम्पहरूमा उपभोक्ताले लामो लाम बस्नुपरेको थियो । निगमले यो परिमाणको इन्धन काठमाडौं उपत्यकामा वितरण गरिएपछि पेट्रोलियम पदार्थिको आपूर्तिमा देखिएको असहजता अन्त्य गर्न सहयोग पुग्ने पनि जनाएको छ । चार दिनदेखि चालकले हड्ताल गरेका कारण उपत्यकामा तेल अभाव भएपछि निगमले बिदाको दिनमा समेत वितरण गरेको हो ।

थानकोट डिपोले शुक्रबार ५ लाख ८ हजार लिटर पेट्रोल र ५ लाख ३६ हजार लिटर डिजल वितरण गरेको थियो । चालकले इन्धन ढुवानी गर्न थालेपछि बजारमा देखिएको इन्धनको अभाव एक(दुई दिनमै कम हुने निगमको भनाइ छ । निगमले इन्धनको आपूर्ति सहज पार्न पेट्रोल पम्पलाई कोटाअनुसार वितरण गर्न निर्देशन दिएको थियो । मोटरसाइकल र स्कुटरलाई पाँच र अन्य गाडीलाई १५ लिटरका दरले इन्धन वितरण गर्न निगमले निर्देशन दिएको थियो । सामान्य अवस्थामा उपत्यकामा दैनिक ४ सय किलोलिटर पेट्रोल र ५ देखि ६ सय किलोलिटर डिजेल खपत हुने गरेको छ ।