१० मंसिर २०८१, सोमबार
पहाडी जिल्लाहरूमा जाने बसको अग्रिम टिकट बुकिङ सकिएपछि बस थपिँदै छन् । थप नगर्दासम्म यात्रुहरूले टिकट नपाउने अवस्था देखिएपछि व्यवसायीहरूले नियमिततर्फका बसहरूलाई क्यु बढाएर थप गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष डोलनाथ खनालले स्थानीय बस व्यवसायी समितिहरूबाटै चलिरहेका बसको क्यु बढाएर थप गर्ने काम सुरु भइसकेको बताएका छन् ।
सुगम तथा तराईका जिल्लाहरूमा जाने बसहरू भने त्यति बुक नभइसकेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरले जानकारी दिए । उनका अनुसार हालसम्म बसको १५ हजारवटा टिकट बुकिङ भएका छन् । तीमध्ये अधिकांश पहाडी जिल्लामा जाने बसहरू हुन् । महाप्रबन्धक कुँवर भने, पहाडी जिल्लाका बसहरू लगभग प्याक भइसके तर सुगम र तराईका जिल्लामा जाने बसहरू भने खाली–खाली जस्तै छन् । कुँवरले भने, सुगमका जिल्लामा माइक्रोबसहरू पनि चलेका छन् अचेल बस जतिकै माइक्रोबस भइसके, अहिले धेरैको प्राइभेट गाडी छन, मोटरसाइकलमै जानेको सङ्ख्या लाखौँ हुन्छ, प्लेनबाट पनि उत्तिकै जान्छन्, त्यस कारणले बसमा कमी भएको हुनसक्छ ।
पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम, रोल्पालगायतका मध्य पहाडी जिल्लामा जाने टिकट नपाएर बस थप्नु परेको छ तर झापा, विराटनगर, जनकपुर, बुटवल, भैरहवा नेपालगञ्ज, दाङ, कञ्चनपुरजस्ता जिल्लामा जाने बसहरूको टिकट बुक भने पर्याप्त हुन सकिरहेको छैन । सुदूपश्चिमका पहाडी तथा सुगम जिल्लाहरूमा पनि बसको टिकट बुक भइसकेको र बस थप्नुपर्ने अवस्था रहेको कुँवरले बताए।
कात्तिक २ गतेको दसंैँका लागि असोज २६, २७, २८ र २९ गतेको बसहरूमा बढी बुक भएका छन् । टिकट बुकिङ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुला गरिएको छ ।