११ करोड राजस्व संकलन

होमल्याण्ड खबर

२०७५ आश्विन १८ गते, बिहीबार ११:२७ मा प्रकाशित

प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गत आर्थिक वर्षमा प्रदेश नम्बर २ को सवारी कारवाहीबाट ११ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । पथलैयास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सिराहा र सप्तरीबाहेकका अन्य ६ जिल्लामा एकवर्षको अवधिमा सवारी कारवाहीबाट ११ करोड १७ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

पथलैयास्थित ट्राफिक प्रहरी कार्यालयले २ करोड ८ लाख ४९ हजार, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले १ करोड ४० लाख २ हजार, जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले १ करोड ६० लाख, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले १ करोड ९३ लाख १२ हजार ५ सय, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले १ करोड २४ लाख ८७ हजार, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले १ करोड ३३ लाख ८१ हजार ५ सय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले १ करोड ५७ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेका छन् ।

प्रदेश प्रहरी कार्यालयमा रुपान्तरण भएको साविक मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको कार्यक्षेत्रमा यसअघि सिराहा र सप्तरी बाहेक प्रदेश २ का अन्य ६ जिल्ला रहेको थियो । मध्यक्षेत्रका १६ जिल्ला हेर्ने कार्यालयलाई साउन १ गतेदेखि प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरिएको हो । अब यस कार्यालयले प्रदेश नम्बर २ का ८ जिल्ला हेर्नेछ ।

प्रदेश प्रहरी कार्यालयको गत आर्थिक वर्षको तथ्यांकले सवारी कारबाहीमा सबैभन्दा बढी ट्रक पर्ने गरेको देखिएको छ । प्रदेश २ का ६ जिल्लामा ट्राफिक प्रहरीले एकवर्षमा ८६ हजार ३७ पटक ट्रकलाई कारबाही गरेको छ । ट्रकलाई गरिएको कारवाहीबाट मात्र ५ करोड ८२ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

ट्रकपछि मोटरसाइकल बढी कारबाहीमा पर्ने गरेको देखिएको छ । प्रदेश २ का ६ जिल्लामा गत आर्थिक वर्ष २०७४÷७५ मा ४९ हजार ५ सय २१ पटक मोटरसाइकललाई कारवाही गरिएको छ । जसबाट ट्राफिक प्रहरीले ३ करोड ८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यसबाहेक बस, कार, जिप, भ्यान, ट्रयाक्टर, टेम्पोलगायतका अन्य सवारी साधन ट्राफिक कारबाहीमा पर्ने गरेको प्रदेश प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।