८ मंसिर २०८१, शनिबार
नेपाल बहुविश्वविद्यालयको अवधारणामा गएको ३० वर्ष हुन लाग्यो तर त्रिभुवन विश्वविद्यालयबाहेक अरुमा जम्मा विद्यार्थी संख्या १० हजार पनि पुग्दैनन् ।
त्रिभुवन विश्वविद्यालयअन्तरगत पनि १९ भन्दा बढी विषयहरु विद्यार्थीविहिन हुदै गएका छन् ।
तर त्रिभुवन विश्वविद्यालयअन्तर्गत कानुन पढाइ हुने नेपाल ल क्याम्पसमा यस वर्ष एलएलबी पढ्न यति धेरै विद्यार्थी भर्ना भएका छन् ।
मानौ ‘कानून सबैले जानुन् ।’
कानुन संकायका डिन ताराप्रकाश सापकोटा यसरी ओइरो लाग्नुका चार कारण देख्छन् । पहिलो, एलएलबी पढेपछि कानुनदेखि संविधान र राजनीतिमा समेत भिज्न सजिलो हुने भएकाले यो विषयमा धेरैको रूचि बढ्यो ।
दोस्रो, देश संघीय संरचनामा गएपछि गाउँपालिकारनगरपालिकामा उपप्रमुखलाई न्यायाधीशजस्तै कानुनी मामिलामा निर्णय गर्ने अधिकार दिइएको छ ।
उपप्रमुख नेतृत्वको न्याय समितिले जिल्ला अदालतभन्दा बढी अधिकार पाएका छन् । कतिपय मुद्दा फैसला र सुनुवाइको अधिकार समितिलाई नै छ । भोलिको दिनमा जनप्रतिनिधिको निम्ति बाटो बनाउन कानुन पढ्न आउनेहरू थुप्रै छन् ।
तेस्रो, २०७१ मा सर्वोच्च अदालतको फैसलाले न्यायिक र अर्धन्यायिक निकायको कार्यालय प्रमुख हुन तीन महिना कानुनसम्बन्धी तालिम लिएको वा कानुनमा स्नातक गरेको हुनुपर्ने सर्त राख्यो । यसलाई लोकसेवाले पनि मान्यता दियो । यसअनुसार वन, भन्सार, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी हुन कानुन पढेको हुनुपर्छ ।
चौथो, सरकारी कर्मचारी ५८ वर्षमा सेवानिवृत्त हुन्छन् । यो भनेको कामै गर्न नसक्ने उमेर होइन। त्यसपछि के गर्ने भन्ने प्रश्न उब्जिन्छ। कानुन पढेको छ भने सरकारी सेवाबाट रिटायर भएपछि लाइसेन्स लिएर वकालत गर्न सकिन्छ। यसले पनि धेरैलाई एलएलबीतर्फ आकर्षित गरेको छ।
यसबाहेक अर्को व्यवहारिक कारण पनि औंल्याउँछन् सहायक क्यम्पस प्रमुख सनद देवकोटा । उनका अनुसार, कुनै पनि विषयमा स्नातक पास गरेकाले एलएलबी पढ्न पाइने हुँदा थप चाप भएको हो । कानुन पढेको र नपढेको व्यक्तिलाई हेर्ने समाजको दृष्टिकोणै फरक छ । कानुन पढ्नेले केही जानेको नै हुन्छ । देवकोटाले भने, ‘कानुन जानेपछि अरूले भन्दा सम्मान पनि बढी पाउने भयो ।’
तीनवर्षे स्नातक (एलएलबी) पहिलो वर्षमा शुक्रबारसम्म १० हजार ७ सय ५० विद्यार्थी भर्ना भएका छन् । जबकि, यो कलेजमा मुश्किलले ३ सय विद्यार्थी मात्र पढाउने क्षमता छ । त्यसमा पनि विएएलएलवि तथा एलएमएमका क्लासहरु पनि सञ्चालनमा छन् ।
अहिलेसम्म भर्ना भएकामध्ये १० प्रतिशत विद्यार्थी मात्र पढ्न आए पनि क्याम्पसको भौतिक तथा शैक्षिक पूर्वाधारले धान्दैन । यहाँ जनशक्ति अन्तर्गत लेक्चरर र कर्मचारी अभाव छ । जम्मा ५२ शिक्षक र ३० जना कर्मचारी मात्र छन् ।
एउटा सेक्सनमा चालीस जना मात्र विद्यार्थी राख्ने त्रिवि आर्थिक तथा संगठनात्मक नियमावली २०५५मा उल्लेख छ । यही नियम अनुसार कक्षा व्यवस्थापन गर्ने हो भने अहिलेकै भौतिक र शैक्षिक पूर्वाधारले यो सम्भव छैन । डिन सापकोटा यो कुरा स्विकार गर्दछन् ।
उनका अनुसार यहाँ एलएलबी पढाउन तीनदेखि पाँचवटा कक्षा छन् । सबैमा भरिभराउ विद्यार्थी राख्दा पनि बढीमा पाँच सय जना पढाउन सकिएला ।
नेपाल ल क्याम्पसले दुई चरणमा गरी यति धेरै विद्यार्थी भर्ना लिएका हुन् । विद्यार्थी भर्नाबाट यसपालि क्याम्पसलाई १० करोड रूपैयाँसम्म हुने अपेक्षा गरेको छ । एलएलबी पढ्न एक जनाले वर्षको ९ हजार १ सय ५० रुपैयाँ तिर्नुपर्छ ।
यो क्यम्पसमा स्ववियु चुनाव नभएको दशक पुगेको छ । यसैले पनि एलएलबी भर्ना शुरुदेखि नै विवादित भयो । यसमा विद्यार्थी राजनीति गर्नेहरुको पनि प्रष्ट भूमिका देखिएन । अखिलका विद्यार्थी नेता विशेष सुवेदी पढ्न चाहनेले भर्ना हुन पाउनु पर्ने तर्क गर्छन् । यस्तै, नेविसंका नेता बलराम ढकाल संख्या भन्दा पनि गुणस्तरलाई जोड दिनु पर्ने तर्क गर्छन् ।
क्यम्पस प्रशासन भर्नामा आएको चापका कारण उत्साहित मात्रै होइन भयवित पनि देखिन्छ । क्षमता अनुसारमात्र भर्ना लिन खोज्दा मन्त्री र पदाधिकारीहरु नै प्रेसर दिने बताउँछन् । अच्चम त के छ भने, गेस पेपर बेच्ने र फोटोकपी गर्नेहरुको पनि भर्नाको संख्या बढाउन दिने गरेका बताइन्छ ।
त्रिवि मातहत एलएलबी पढाइने आठ क्याम्पसले पाँच सयका दरले विद्यार्थी पढाउने सहमति भएको थियो । ल क्याम्पसमा भने आठ सय जनालाई पढाउने भनेर प्रवेश परीक्षा लिइयो । विद्यार्थी संगठनहरूले कोटा निर्धारणको विरोध गरे । प्रवेश परीक्षाको उत्तरपुस्तिका च्यातिदिए ।
फलस्वरुप परीक्षाफल प्रकाशन गर्न पाइएन । प्रवेश परीक्षा दिएकाजति जम्मैले एलएलबी पढ्न पाउने सूचना जारी गरियो ।
कानुन पढ्ने क्याम्पसमै कानुन मिचेर गरिएको यो भर्नाले विद्यार्थीहरू नै प्रभावित बनेका छन् । क्याम्पसको क्षमताभन्दा बढी विद्यार्थी चाप भएपछि नियमित कक्षा हुन सकेको छैन । भोजपुरका विपिन शाक्य यसका भुक्तमान हुन् ।
एलएलबी पहिलो वर्षमा भर्ना भएका शाक्यले कक्षा सुरु भएको तीन साता बित्न लाग्दा पनि नियमित पढ्न पाएका छैनन् ।
बिहान ४ः३० मा कीर्तिपुरबाट हिड्दा ५ बजे नै क्याम्पस पुग्छन् तैपनि पनि बस्ने ठाउँ हुँदैन । विद्यार्थी भरिभराउ भइसक्छन्,’ शाक्यले होमल्यडसँग भने, ‘४ घण्टासम्म उभिएर पढ्न सकिन्न ।’ क्लास लिने मन र समय हँदाहुँदै पनि ठाँउ नभएको कारण क्यम्पस नआउने विपिन जस्ता धेरै छन् । उनीहरुको प्रश्न छ, ‘पढाउने ठाउँ नै नहुने गरी किन भर्ना लिनु?’