१० मंसिर २०८१, सोमबार
सुदूरपश्चिम प्रदेश सरकारले दुई महिनामा करिब १० करोड राजस्वसंकलन गरेको छ । प्रदेश सरकारले साउन र भदौमा गरी ९ करोड ७७ लाख ६५ हजार ४ सय १ रुपैयाँ राजस्व संकलन गरेको हो । यो प्रदेशमा उठाउनुपर्ने कुल करको ७ दशमलव ५४ प्रतिशत मात्र हो । प्रदेश सरकारले घरजग्गा दर्ता र सवारी साधनबाट बढी कर संकलन गरेको छ ।
घरजग्गा दर्ता र कर वापत ५ करोड ४ लाख २५ हजार ७ सय १५ रुपैयाँ र सवारी साधन करबापत ४ करोड २५ लाख ६३ हजार ३ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । अन्य न्यायिक दण्ड जरिवानामा जफतमा प्रदेश सरकारले ४७ लाख ७६ हजार ३ सय ८६ हजार रुपैयाँ अर्थात् १५.९२ प्रतिशत राजस्व संकलन गरेको छ । जुन कुल राजस्वको २.३१ प्रतिशत हुन आउँछ । यो शीर्षकमा चालू वर्षमा ३ करोड रुपैयाँ राजस्व संकलन गर्ने अनुमान लिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
कतिपय स्थानमा संकलन हुने राजस्वको विवरण अझै आउन बाँकी छ । बाँकी शीर्षकमा पनि कर संकलन भइरहे पनि मन्त्रालयसम्म नआइपुगेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए । मन्त्री बोहराले साउन र भदौमा राजस्व संकलन सन्तोषजनक रहेको बताए । सुदूरपश्चिम प्रदेशमा ८८ वटा स्थानीय तह छन् ।
मन्त्री बोहोराले मनोरञ्जन, कृषि, प्रशासनिकलगायतका शीर्षकमा कर संकलन भइरहेको बताए । प्रदेश सरकारले १ अर्ब २९ करोड ६५ लाख ८२ हजार रुपैयाँ कर संकलन हुने अनुमान गरेको छ ।
यसका लागि घर जग्गा दर्ता कर ३९ करोड ९३ लाख ९० हजार, सवारी साधन कर ४० करोड ४१ लख ९२ हजार, दण्ड जरिवाना तथा जपत कर ३ करोड, अन्य कर ६ करोड, मनोरञ्जन कर ५ लाख, विज्ञापन कर १५ लाख, कृषि आय कर ५ लाख र अन्य प्रशासनिक कर ५ लाख संकलन गर्ने लक्ष्य प्रदेश सरकारको छ ।
सुदूरपश्चिम प्रदेशको अनुमान गरिएको कूल आयमध्ये ९४.८३ प्रतिशत संघीय सरकारको अनुदान हो भने ५.१७ प्रदेशमा उठ्ने कर हो । मन्त्री बोहराले संघीय सरकारले सहयोग गरे लक्ष्यभन्दा बढी संकलन गर्ने दाबी गरे । राजस्व संकलनका लागि करको दायरा बढाउने, चुहावट कम गर्नेलगायतका प्रयास भइरहेको उनले जानकारी दिए । प्रदेश सरकार गठन भएको सुरुवाती चरणमा कार्यालयसहित कर्मचारी व्यवस्थापन हुन नसक्दा कर संकलनमा केही समस्या देखिएको उनको भनाइ छ ।