गादावरी फूलको मेला कात्तिक १५ १५ देखि १८ गतेसम्म

होमल्याण्ड खबर

२०७५ कार्तिक १३ गते, मंगलवार १०:२८ मा प्रकाशित

गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि कार्तिक १५ देखि १८ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना हुने भएको छ ।

पुष्प व्यवसाय प्रवर्द्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो । १२ औँ संस्करणको मेला प्रदेश सरकार, प्रदेश नं. ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले गर्न लागेको हो ।

प्रदर्शनीको नारा ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने रहेको छ ।

गोदावरी फूलको विविध जाती प्रजातीहरु मध्ये प्रदर्शनीमा मुख्यतः स्पाईडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावरलाई प्रतियोगितामा समावेश गरि प्रतिस्पर्धा गराईने छ । मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।
३६ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने मेलामा ४५ लाख रुपैंया बराबरको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकको छ ।