१० मंसिर २०८१, सोमबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलबाट ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने दावी गरेका छन् ।
मंगलबार निर्माणधीन विमानस्थलको रनवे पिचिंग शुभारम्भ गर्दै मन्त्री अधिकारीले पछिल्लो समय कामले राम्रो गति लिएको र अप्ठ्यारा र धेरै जनशक्ति लाग्ने अधिकांश काम अन्तिम चरणमा पुगेकाले तोकिएकै मितिमा आयोजना सम्पन्न गरी अन्तर्राष्ट्रिय उडान भर्ने बताए ।
आयोजनाका अनुसार अहिलेसम्म ५ वटा विमान पार्क गर्न मिल्ने गरी पार्किङ्ग एरियाको काम सम्पन्न भइसकेको छ । यस्तै कठिन मानिएका ओभरहेड ट्याङ्की, प्रशासनिक भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्रा्ष्ट्रिय टर्मिनल भवन लगायतको काम पनि अन्तिम चरणमा छ ।
खासगरी विमानस्थल निर्माण गर्दा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ढिलाई भइरहेको छ । मन्त्री अधिकारीले स्थानीयको भावनाअनुसारै यसैवर्ष ९ अर्ब मुआब्जा वितरण गर्ने र आयोजना सकिन अगावै सबै वितरण गरिसक्ने आश्वासन दिए ।
अर्को प्रसंगमा मन्त्री अधिकारीले हवाई रुटकाबारे भारतसँग छलफल भइरहेको बताए । उनले रुट नभएर विमानस्थल संचालनमा आउन्न की भन्ने दुविधा हटाउन सबैलाई आग्रह गरे ।
सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी २०१५ मा विमानस्थल निर्माण कार्य सुरु भएको थियो । तर विचविचमा आएका अवरोधले विमानस्थल निर्माण कार्य केही पछाडि धकेलिएको थियो ।
पछिल्लो समय चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले काममा तिव्रता दिएको छ । एडिबीको अनुदान र ऋण सहयोग गरी कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतमा विमानस्थल निर्माण भइरहेको छ ।
विमानस्थल निर्माणमा हालसम्म २ अर्ब ६ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ । अहिलेसम्म विमानस्थल निर्माण ५५ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।