क्षमता हेरेर ऋण : अर्थमन्त्री खतिवडा

होमल्याण्ड खबर

२०७५ कार्तिक २५ गते, आईतवार ११:२८ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले युवाहरूले योग्यता र क्षमताको मूल्यांकन गरेर सरकारसँग माग गरे ऋण दिन तयार रहेको बताएका छन् । उनले युवाहरूलाई ऋण दिन कर संकलन नगरे विदेशी ऋणको बोझ बोक्नुपर्ने भएकाले मुलुकभित्रै कर संकलन गरेर रकम संकलन गरिनेसमेत जानकारी दिए ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले झापाको बिर्तामोडमा गरेको ब्याज अनुदान फिर्ता कार्यक्रममा अर्थमन्त्री खतिवडाले जनताबाट उठेको कर जनतालाई नै दिइने भन्दै आफूले ‘भान्से’को काम मात्र गरेको दाबी गरे । युवा स्वरोजगार कोषमार्फत् अनुदान लिएर नियमित किस्ता तिर्ने झापाका ८४४ जना असल व्यवसायीलाई शनिबार ब्याज बापत तिरेको ६० प्रतिशत रकम प्रोत्साहन स्वरूप फिर्ता दिइएको छ । युवालाई व्यवसायिक बनाउन करबाट संकलित रकम सरकारले विभिन्न शीर्षकमा अनुदान दिन लागेको उनले जानकारी दिए । सहकारीकर्मीहरूसँग छलफल गर्दै मन्त्री खतिवडाले कानुन निर्माणमा त्रुटी भएका कारण आयकर ऐनमा लाग्नुपर्ने कर सहकारी ऐनमा लगाइएका कारण सहकारीकर्मीलाई परेको करको बोझ हटाउन संविधान संसोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

मन्त्री खतिवडाले आफू पनि ‘गभर्नर’ भएको र त्यही समयमा योजना बनाएर युवा लक्षित स्वरोजगार कोष सुरु गरेको जानकारी दिए । सुरुवातमा स्वरोजगार कोषको रकम केही दुरूपयोग भएको भन्दै उनले यसलाई रोक्न कर्जासम्बन्धी नियम सरकारले ल्याउन लागेको बताए । योजनाले देशभरका हजारौं युवालाई व्यवसायी बनाएको उनको दाबी थियो ।

कार्यक्रममा स्वरोजगार कोषका राष्ट्रिय उपाध्यक्ष डा. प्रेम बानियाँले स्वरोजगार कोषलाई २ लाखदेखि बढाएर ५ लाख पु-याउने निर्णय भएको बताए । “स्वरोजगार कोष ग्रामिण भेगका युवामाझ अझ पुग्न सकेको छैन, यस विषयमा थप अनुगमन गरेर अघि बढ्ने छौं,” उनले भने । झापा–२ की सांसद पवित्रा खरेल, प्रदेश सांसद झलकसिंह दर्लामी, बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा प्रसाईं, जिल्ला सहकारी संघ अध्यक्ष घनश्याम ढकाल लगायतले समयसापेक्ष कोषको रकममा बृद्धि गर्दै जानुपर्नेमा जोड दिए ।