११ मंसिर २०८१, मंगलवार
नेपालभर रहेका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै कर बुझाएबापत दाङमा रहेको घोराही सिमेन्ट उद्योग सम्मानित भएको छ । सातौं कर सप्ताहका अवसरमा शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमा उद्योगलाई सम्मान गरिएको थियो । सरकारले सात वर्ष अघिदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । सोही क्रममा अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा देश भरका उद्योगी करदातामध्ये घोराही सिमेन्ट उद्योग समयमै र सबैभन्दा धेरै कर तिर्ने उद्योगका रुपमा सम्मानित भएको छ ।
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग लाजिम्पाट काठमाडौले सातौं राष्ट्रिय कर दिवसका अबसरमा घोराही उपमहानगरपालिका–४ गाेग्लीमा रहेको घोराही सिमेन्ट उद्योग प्रालिलाई सम्मान गरेको हो । स्थापनाकालदेखि हालसम्म समयमै मूल्य अभिवृद्धि कर विवरण र कर बुझाएका करतादामध्ये बितेको आर्थिक वर्ष २०७३÷७४ मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गरेको भन्दै विभागले सम्मान गरेको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गतेका दिन कर दिवस साताव्यापी रूपमा मनाउँदै आएको छ ।
सोही क्रममा देशभरका उद्योगी, व्यवसायी र व्यक्तिगत रूपमा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । दाङ जिल्लामा रहेको उद्योगले देशभरका उद्योगमध्य सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिरेकोमा दाङबासीले खुसी व्यक्त गरेका छन् । उद्योगले सामाजिक क्षेत्रमा पनि विभिन्न काम गर्दै आइरहेको छ । वडा नं. ४ र साविकको लक्ष्मीपुर गाविस लगायत बंगलाचुली गाउँपालिकालगायत अनेत्र पनि सामाजिक विकासका काममा सहयोग गर्दै आइरहेको छ । उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदीका अनुसार हरेक बर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत गत वर्ष मात्रै पनि उद्योगले करिब ३ करोड रुपैयाँबराबरको रकम योगदान गरेको थियो । उद्योगले सडक निर्माण, धुलो नियन्त्रण, वृक्षरोपण, वातावरण सरसफाइ, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेकोे छ ।