११ मंसिर २०८१, मंगलवार
गण्डकी प्रदेशका उधोग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले निजी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
तनहुँ उधोग वाणिज्य संघ खैरेनीटार बजार इकाईको २३ औं वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै मन्त्री लम्सालले विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताए । “निजी क्षेत्रलाई लगानीको वातावरण सिर्जनाका लागि सरकार गम्भीर छ,” उनले भने, “लगानी सम्मेलन गरेर निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाएका छौं ।” मन्त्री लम्सालले सरकार र निजी क्षेत्रको सहकार्यमा उधोग स्थापना गरी युवालाई स्वदेशमा नै रोजगारीको व्यवस्था गरिने बताए ।
“युवाशक्तिलाई विदेशिन रोक्दै स्वदेशमै उधमी बनाउन सरकारले कार्ययोजना बनाएको छ,” उनले भने, “यसका लागि निजी क्षेत्रको समेत सहयोग आवश्यक पर्दछ ।” राजनीतिक आन्दोलन सकिएकाले अबको मुद्धा आर्थिक समृद्धि मात्रै रहेको मन्त्री लम्सालको भनाई थियो । यसअघि ९(९ महिनामा सरकार परिवर्तन हुने परम्पराले नेपालको विकास हुन नसकेको भन्दै मन्त्री लम्सालले अबको पाँच वर्ष जनताले महशुस हुने गरी काम हुने दाबी गरे ।
मन्त्री लम्सालले गण्डकी प्रदेशका ८५ गाउँपालिकामा स्वरोजगार सिर्जना गर्न होमस्टे सञ्चालनका लागि ३० करोड रूपैयाँ विनियोजन गरिएको भन्दै निजी क्षेत्रसँगको सहकार्यमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने बताए ।
कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डितले आर्थिक समृद्धिका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले विकास निर्माणमा निजी क्षेत्र सरकारको परिपुरक भएर काम गर्न तयार रहेको भन्दै सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन ल्याउनुपर्ने बताए ।