एडिबीले छानेको कम्पनी सिएमसीलाई वित्तीय संकट

होमल्याण्ड खबर

२०७५ मंसिर २८ गते, शुक्रबार १३:२६ मा प्रकाशित

ठूला आयोजना विदेशी कम्पनीलाई मात्र दिदे प्रपञ्चमा दाताहरु लागेका बेला इटालियन ठेकेदार कम्पनी सिएमसी डि रेभेन्ना वित्तीय संकटमा फस्न थालेको छ । कम्पनीको नगद प्रवाहमै संकुचन आएको ति कम्पनीमार्फत जारी विज्ञप्तिमा जनाएका छन् ।

सिएमसीको केन्द्रीय कार्यालयले नोभेम्बर ९ मा सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा कम्पनी ‘क्यास फ्लोको टेन्सन’ बाट गुज्रिरहेको उल्लेख छ । वित्तीय संकटमा रहेको कम्पनीले नेपालमा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना, १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना र निजी क्षेत्रको साहस ऊर्जाले निर्माण गर्न लागेको ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको ठेक्का पाएको थियो ।

मेलम्ची खानेपानी आयोजनाका तर्फबाट सिएमसीलाई भुक्तानी गर्नुपर्ने कुनै पनि दायित्व बाँकी नरहे पनि उसैको कारण लक्ष्यअनुसार काम भएको छैन । आयोजनासम्बद्ध स्रोतका अनुसार कमलो चट्टान वा कडा चट्टान बहाना बनाइरहेको कम्पनीको यो हविगत सार्वजनिक भएको जनाएको छ ।

‘आयोजनाको काम गरेबापत ठेकेदारलाई भुक्तानी गर्नुपर्ने कुनै पनि काममा ढिलाई गरेका छैनौँ, सिएमसीको पनि सबै रकम भुक्तानी समयमा भएको छ,’ आयोजनाको व्यवस्थापन तहमा रहेका एक अधिकारीले भने, ‘सिएमसीकै कारण पटकपटक काम सक्ने लक्ष्य पर सार्नु परेको छ।’

पछिल्लो पटक खानेपानी तथा सरसफाई मन्त्रालयले माघ १६ गते भित्र मेलम्चीको पानी काठमाडौं ल्याउने जनाएको छ । प्रतिनिधिसभाको विकास समितिको बैठकमा मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने दावी गरेका थिए ।

स्मरणीय छ, एडिबीले नेपाली निर्माण व्यवासायीलाई निर्माणको काम नदिई सिन्डिकेट लागू गरेको नेपाली निर्माण व्यावसायीले दावी गरेका छन् । मेलम्ची खानेपानी आयोजना एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढिरहेको योजना हो । मेलम्ची र सिएमसीको विवादको बीचमा एडिबी पनि फसेको थियो । एडिबी नै मुख्य ऋणदाता रहेको तनहुँमा पनि सिएमसीले नै ठेक्का पाएको छ ।

आयोजनाको पहिलो चरणको कामका लागि सिएमसी ठेकेदारको रुपमा छनौट भएको हो। बाँध निर्माण तथा नदी फर्काउने संरचना तयार गर्न उसले ठेक्का पाएको हो । आयोजना र सिएमसीबीच ठेक्का सम्झौता भइसके पनि ’मोबिलाइजेसन पेस्की’ लगेको छैन। ठेक्का सम्झौतामा १८० दिन भित्रमा तयारी सकेर आयोजनाको काम सक्नुपर्ने उल्लेख छ ।