शेयर लगानीकर्ताको अनसनलाई कांग्रेसको समर्थन

होमल्याण्ड खबर

२०७५ पुष २ गते, सोमबार १५:५० मा प्रकाशित

शेयर लगानीकर्ताले उठाएको पुँजी बजार सुधारको मागलाई नेपाली कांग्रेसले समर्थन जनाएको छ ।

सोमबारदेखि नेपाल स्टक एक्सेन्ज कार्यालय अगाडी अनसन स्थलमै पुगेर प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको संस्थागत समर्थन रहेको बताएका हुन् ।

शर्माले भने, ‘तपाईहरुको माग प्रति नेपाली कांग्रेसले पूर्ण समर्थन जनाएको छ, मागलाई सरकारले पूरा गर्नुपर्छ ।’

सरकारले पुँजी बजारलाई हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याउनुपर्ने बताउँदै उनले अर्थमन्त्रीले पुँजी बजारलाई अनुत्पादक क्षेत्र भन्न नसुहाउने बताए । उनले भने, ‘बजारको सूचक ओरालो लाग्दा अर्थतन्त्र पनि ओरालो लाग्छ, त्यसैले पुँजी बजार अपरिहार्य छ ।

शर्मासँगै पूर्व अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी लगायतको समूह अनसनरत लगानीकर्ताको समर्थनमा नेप्से पुगेको छ ।