२२ फाल्गुन २०८२, शुक्रबार
गैरआवासीय नेपाली संघ (एनआरएनए) फिलिपिन्सको नयाँ कार्यसमिति चयन भएको छ।
आइतबार मनिलास्थित पर्ल होटलमा आयोजित एक विशेष कार्यक्रममा संघको साधारण सभा तथा नयाँ पदाधिकारीहरूको शपथ ग्रहण समारोह सम्पन्न भएको हो।


कार्यक्रममा फिलिपिन्सका लागि नेपालका अवैतनिक महावाणिज्यदूत डा. होसे पाउलो ई. क्याम्पोसले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै फिलिपिन्समा नेपाली समुदायको एकता र सक्रियताको प्रशंसा गरे।
संघका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार सुदर्शन कुमार खड्काले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
त्यसअघि, संघका निवर्तमान अध्यक्ष प्रकाश श्रेष्ठले आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराउँदै नयाँ नेतृत्वले नेपाली समुदायको हितमा थप काम गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष डा. संगीत कसाजुले सन् २०१५ को भूकम्पमा एनआरएनएले नेपालमा गरेको मानवीय सहयोगको स्मरण गर्दै संघले सधैं नेपाल र नेपालीको पक्षमा काम गर्ने बताए।
कार्यक्रममा सहभागीहरूबीच आपसी परिचय र संघका आगामी योजनाबारे छलफल समेत गरिएको थियो। समारोहको दोस्रो चरणमा नेपाली विद्यार्थीहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
एनआरएनएले फिलिपिन्सले त्यहाँ बसोबास गर्ने स्वास्थ्य, शिक्षा, व्यापार, सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूलाई संगठित गर्दै उनीहरूको हकहित र नेपालसँगको सम्बन्धलाई प्रगाढ बनाउन काम गर्दै आएको छ।