नेप्से परिसूचकमा १११ अंकको वृद्धि

होमल्याण्ड खबर

२०८२ आश्विन ५ गते, आईतवार १६:०८ मा प्रकाशित

गत हप्ता अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (आइतबार) १११ दशमलव ७० अंकले बढेको छ । आज नेप्से परिसूचक चार दशमलव ४४ प्रतिशतले बढेको हो ।

आज ३२९ कम्पनीको २ करोड ३२ हजार २२४ कित्ता शेयर १ लाख ८ हजार ९०८ पटक खरिदबिक्री हुँदा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आज म्युचुअल फण्ड शून्य दशमलव ७१ र निर्जीवन बीमा ४ दशमलव शून्य २ प्रतिशतले घटेको छ भने अरु सबै समूहका उपसूचक बढेका छन् ।

सबैभन्दा बढी व्यापार समूह ८ दशमलव ६६ प्रतिशतले बढेको छ । बैंकिङ ४ दशमलव ५२, विकास बैंक छ दशमलव शून्य सात, वित्त ५ दशमलव ५४, होटल तथा पर्यटन २ दशमलव ३३, जलविद्युत् ५ दशमलव ८३, लगानी ७ दशमलव ६८, उत्पादन तथा प्रशोधन चार दशमलव ८५, लघुवित्त ३ दशमलव ६९ र अन्य समूह एक दशमलव ५३ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा १३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य ७ दशमलव ६४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ८३ करोड १३ लाख ५५ हजार ९१० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेडको ९ लाख १४ हजार ३६ कित्ता शेयर खरिदबिक्री भएको छ ।