२२ फाल्गुन २०८२, शुक्रबार
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शीर्ष नेताहरूउपर अनुसन्धानलाई तीव्र बनाएकाे छ । यसक्रममा विभागले विभिन्न निकायहरूलाई विवरण पठाउन पत्राचार गरेकाे छ।
विभागले नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारकाे कार्यालय, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र भूमिसुधार तथा मालपाेत विभागमा पत्राचार गरेर विवरण पठाउन भनेकाे छ ।


विभागले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा र पुत्र जयवीर देउवाका नाममा रहेका बैंक खाता, सेयर काराेबार, जग्गाकाे विवरण मागेकाे हाे ।
यस्तै विवरण विभागले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे हकमा पनि मागेकाे छ । निवर्तमान मन्त्री तथा कांग्रेस नेता दीपक खड्काका पनि यस्ता विवरण पठाउन भनिएकाे छ ।
विभाग स्राेतका अनुसार राष्ट्र बैंकमार्फत नेताहरूकाे विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाता र माैज्दात पठाउन पत्राचार गरिएकाे छ । याे पत्राचार दसैँ बिदाकाे अघिल्लाे दिन १२ गते नै राष्ट्र बैंकलाई गरिएकाे छ । राष्ट्र बैंकबाट विवरण प्राप्त भएपछि खाता राेक्का गर्नेसम्मकाे तयारी छ ।
कम्पनी रजिस्ट्रार, सिडिएस र मालपाेतलाई भने विवरण पठाउन आजै पत्राचार गरिएकाे स्राेत बताउँछ । कम्पनी रजिस्ट्रारबाट नेताकाे संलग्नता रहेका विभिन्न कम्पनीबारे, सिडिएसबाट धिताेपत्र काराेबार र मालपाेतबाट घरजग्गाकाे विवरण मागिएकाे छ ।
शीर्ष नेताकाे घरमा गएर जेन–जी आन्दाेलनमा जलेका पैसामाथि अनुसन्धान चलिरहेकाे छ । यसकाे अहिले प्रहरीकाे फरेन्सिक ल्याबमा परीक्षण चलिरहेकाे छ ।
‘शीर्ष नेताहरूकाे सम्पत्तिमाथि प्रारम्भिक जारी छ । यसका लागि आवश्यक विवरण सम्बन्धित निकायबाट मागिएकाे छ,’ विभाग स्राेत भन्छ, ‘छुट्टै अनुसन्धान टाेलीमार्फत काम भइरहेकाे छ ।’