२१ भाद्र २०८३, आईतवार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका दैलेखका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार जिल्लाsJ डुङ्गेश्वर गाउँपालिकामा कार्यरत सातौँ तहका वरिष्ठ लेखा अधिकृत कार्कीले सडक स्तरोन्नति तथा निर्माण योजना सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग रु. १ लाख घुस मागी लिएको अवस्थामा पक्राउ परेका थिए।


टंगालस्थित अख्तियार मुख्यालय र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा कार्कीले डुङ्गेश्वर गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक–देउली–जडी सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गर्ने बहानामा घुस मागी लिएको प्रमाणित भएको आयोगले जनाएको छ ।
सोही आधारमा आयोगले कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर कायम गरी बिगो रकम रु. १ लाख र सो बराबरको जरिवाना तथा कैद सजायको मागसहित आरोपपत्र दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।