वाइड बडी खरिदमा साढे ३ अर्ब बढी मूल्य भ्रष्टाचार ठहर

होमल्याण्ड खबर

२०७५ पुष १६ गते, सोमबार १०:२१ मा प्रकाशित

नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिद गर्दा करिब साढे ३ अर्ब रुपैयाँ बढी खर्च गरेको देखिएको छ । एयरबसले दुई वर्षअघि निगमलाई पठाएको मूल्यसूचीका आधारमा हिसाब गर्दा ३ अर्ब ४० करोड रुपैयाँ बढी खर्चिएको देखिन आएको हो ।

निगमले खरिद गरेको वाइडबडी विमानको आधारमूल्य १० अर्ब ४० करोड रुपैयाँ हो । आशयपत्र जारी गरेपछि ११ वटा कम्पनीले पेस गरेको प्रस्ताव मूल्यांकन क्रममा सन् २०१६ को आधारमूल्य ८ करोड ८० लाख ९९ हजार ३१७ (८८.०९ मिलियन) अमेरिकी डलर निर्धारण गरेको थियो तर निगमले करिब १० करोड ८१ लाख (१०८.१ मिलियन) का दरले दुईवटा विमानका लागि करिब २१ करोड ६३ लाख ८८ हजार डलर (२१.६३ मिलियन) डलर भुक्तानी गर्याे ।

एयरबसले पठाएको मूल्यसूची र भुक्तानी हेर्दा साढे ३ अर्बको ‘चलखेल’ भएको देखिन्छ । एयरबसबाट पठाएको कागजात भने गोप्य राखिएको छ । अख्तियार स्रोतले उपलब्ध गराएकै विवरण संसद्को सार्वजनिक लेखा समितिमा पुगेको प्रस्ताव मूल्यांकन प्रतिवेदनमा समेत छ । विवरण स्रोतका रूपमा ५ नोभेम्बर २०१६ मा निगम र एयरबसबीचको सम्झौतालाई उल्लेख गरिएको छ ।

निगम स्रोतका अनुसार विवरणमा उल्लिखित रकम नै विमानका बारेमा एयरबसबाट उपलब्ध पछिल्लो आधिकारिक आधारमूल्य हो । ‘त्यो विवरण आधिकारिक र यथार्थ हो, विभिन्न कम्पनीको प्रस्ताव मूल्यांकन क्रममा बढाएर ११८ र्पुयाइएको हो,’ स्रोतले भन्यो, ‘सबैतिर गायब बनाउन खोजिएको उक्त विवरण झुक्किएर उपसमितिको प्रतिवेदनमा समावेश भएको हुनुपर्छ।’कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।