पेट्रोल पम्प दर्ता प्रक्रिया परिवर्तन हुँदै

होमल्याण्ड खबर

२०७५ पुष १६ गते, सोमबार ११:२६ मा प्रकाशित

नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प दर्ताका लागि बिक्रेता विनियमावली संशोधन गर्न लागको छ । हाल चलिरहेको पम्पहरूमा सुधार गर्ने र निगमले दुई वर्षअघि आवेदन खुलाएको नमुना पेट्रोल पम्पका प्रावधान यथावत् राखी नयाँ पम्पका लागि नयाँ विनियमावली ल्याउन लागेको हो ।

नमुना पेट्रोल पम्प निर्माणका लागि एक बिघा जमिन हुनुपर्ने प्रावधानसहित रेस्टुरेन्ट, महिला पुरुष शौचालय, पार्किङलगायतका संरचना निर्माण गर्नुपर्ने व्यवस्थाहरू थिए तर त्यो व्यावहारिक नभएको र लगानी गर्न पनि कठिन भएको भन्दै व्यवसायीहरूले गुनासो गर्दै आएको छन् । नमुना पम्पका लागि ९७ वटा आवेदन परे पनि २६ व्यवसायी मात्र प्रक्रियामा सहभागी भएका थिए तर कसैले पनि नमुना पम्प अझै सम्पन्न गर्न सकेका छैनन् ।

चलिरहेका पम्पहरूलाई नमुना बनाउन नसकिने र नमुनाको प्रावधान अनुसार पनि निर्माण गर्न नसक्ने भएपछि निगमले बीचको बाटो अपनाइ निगमले नयाँ विनियमावली ल्याउन लागेको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, पाँच÷छवटा मात्र नमुना पेट्राल पम्प बने, मापदण्ड त्यति सान्दर्भिक रहेनछ भन्ने लाग्यो ।

उनका अनुसार निगमले नयाँ पम्पलाई नयाँ मापदण्ड ल्याउन लागेको हो । खासगरी सडकको विस्तार र विकास भइरहेको छ । जहाँ आवश्यकता भइरहेको छ त्यहाँ सडक र खपतको आधारमा कति ठाउँ चाहिन्छ र कुन किसिमको पम्प बनाउन सकिन्छ, अब नयाँ खोल्दा कस्तो खोल्ने भन्ने कुराको किटान गर्न लागिएको हो, गोइतले बताए ।