२२ फाल्गुन २०८२, शुक्रबार
नयाँ वर्षको उल्लासबिच चीनमा भएको विस्फोटको घटना १२ जनाको ज्यान लिएको छ । पाँच बालबालिका समेत मारिएको उक्त घटनाले बिदाका बेला ग्रामीण क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने आतसबाजी सुरक्षामाथि फेरि प्रश्न उठाएको छ ।
सबै पीडितको पहिचान प्रमाणित भइसकेको जनाइएको छ । रिपोर्टअनुसार पसलका मालिक ‘मिस्टर लिन’ भनेर चिनिने एक व्यक्तिबाहेक बाँकी ११ जना आतसबाजी खरिद गर्न आएका ग्राहक थिए । मृत्यु हुने ग्राहकहरूमध्ये तीन जना करिब ७८० किलोमिटर टाढा रहेको चेङ्दुबाट आफ्ना आफन्तलाई भेट्न आएका थिए ।


चन्द्र नयाँ वर्षका अवसरमा विशेष गरी ग्रामीण क्षेत्रमा आतसबाजी र पटाखा फोड्ने परम्परा अत्यन्त लोकप्रिय छ । यद्यपि सुरक्षा र प्रदूषण नियन्त्रणका कारण पछिल्ला वर्षहरूमा धेरै प्रमुख चिनियाँ सहरहरूले यसको प्रयोगमा प्रतिबन्ध लगाएका छन् । ग्रामीण क्षेत्रमा भने यस्तो अभ्यास अझै व्यापक रूपमा जारी छ ।
विस्फोटको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । बिदाको समयमा यस्ता घातक घटना दोहोरिने क्रम चिन्ताजनक रूपमा देखिँदै आएको छ । गत आइतबार मात्र पूर्वी जियाङ्सु प्रान्तको एक आतसबाजी पसलमा भएको विस्फोटमा आठ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।