२६ फाल्गुन २०८२, मंगलवार
इरानले हानेको ब्यालिष्टिक मिसाइल लागेर इजरायलमा अर्का एक व्यक्तिको मृत्यु भएको छ ।
सोमबार इरानले तेल अभिभ र आसपासको क्षेत्रमा गरेको मिसाइल आक्रमणमा परी थप एक जनाको मृत्यु भएको इजरायली आपतकालीन उद्धार सेवाले जनाएको छ । योसँगै इरानको आक्रमणमा परेर मर्नेको सङ्ख्या देशभरमा १२ पुगेको छ ।


आकस्मिक उद्धार सेवा जाकाका अनुसार सोमबार इरानबाट प्रहार गरिएको ब्यालेस्टिक मिसाइल तेल अभिभको दक्षिणतर्फ पर्ने येहुद क्षेत्रमा खसेको थियो । येहुदस्थित एक निर्माण स्थलमा काम गरिरहेका एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो ।
गम्भीर घाइते भएका अर्का व्यक्तिलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा पछि उनको पनि मृत्यु भएको जाकाले जारी गरेको वक्तव्यमा उल्लेख छ । सो मिसाइलमा क्लस्टर म्युनिसन प्रयोग गरिएको बताइएको छ, जसले एउटै मिसाइलबाट धेरै साना विस्फोटक फैलाएर एकैपटक विभिन्न स्थानमा क्षति पुर्याउँछ ।
यसैबिच इजरायलका विभिन्न सहरमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइएपछि मानिसहरू सडक र राजमार्गमै आश्रय खोज्दै भागेका दृश्यहरू देखिएका छन् ।