२८ फाल्गुन २०८२, बिहीबार
अमेरिका–इजरायल र इरानबीच युद्ध चर्कंदै जाँदा पश्चिम एसियामा रहेका नेपाली श्रमिकको सुरक्षा चिन्ता बढेको छ । यूएईमा इरानले गरेको ड्रोन हमलामा परी १७ फागुनमै एक नेपालीको मृत्यु भएको थियो, त्यसयता १५ नेपाली घाइते भइसकेका छन् ।
अमेरिकाले इरानमाथि हमला बढाइरहँदा इरानले पनि संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन, कुवेत र ओमानमा मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको छ । ती मुलुक नेपाली श्रमिकको प्रमुख गन्तव्य हुन् । यूएईमा १५ घाइते भएको जनाए पनि परराष्ट्र मन्त्रालयले उनीहरूको विवरण सार्वजनिक गरेको छैन ।


‘१५ जना सामान्य घाइते भएका हुन् । धेरैजसो सामान्य उपचारपछि अस्पतालबाट फिर्ता भइसकेका छन्,’ परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले भने, ‘धेरैजसो यूएईको विमानस्थलमा रहेका ट्रन्जिट यात्रु घाइते भएका थिए । उनीहरू सबै आफ्नो गन्तव्यमा पुगिसकेका छन् ।’
घाइतेमध्ये दुई जना नेपाली श्रमिक सामान्य उपचारपछि आफ्नो क्याम्पमा फर्किसकेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ । अमेरिका–इरान युद्धबाट प्रत्यक्ष रूपमा प्रभावित १० देशमा काम गरिरहेका नेपालीको संख्या १७ लाख २८ हजार रहेको नेपाली दूतावासहरूले जनाएका छन् । यसमध्ये बुधबारसम्म ६५ हजार २ सय ८५ नेपालीले आफ्नो विवरण कन्सुलर विभागको अनलाइन फाराम भरेका छन् ।