पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा, ३ अर्बभन्दा बढी विगो दावी

होमल्याण्ड खबर

२०८३ बैशाख २४ गते, बिहीबार १६:४९ मा प्रकाशित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को मुद्दा दायर गरेको छ।

अख्तियार स्रोतका अनुसार केही पूर्वमन्त्रीलाई प्रतिवादी बनाइएको उक्त मुद्दा विशेष अदालतमा दर्ता प्रक्रियामा रहेको छ। यसक्रममा कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियारले बिहीवार कार्कीलाई पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमिततासम्बन्धी प्रकरणमा प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनीविरुद्ध ३ अर्ब रुपैयाँभन्दा बढी विगो मागदाबी गरिएको जनाइएको छ।

पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा अख्तियारले यसअघि पनि विभिन्न चरणमा मुद्दा दायर गर्दै आएको छ। गत २१ मंसिरमा पाँच जना पूर्वमन्त्रीसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो।

त्यसपछि ८ चैतमा दायर गरिएको अर्को मुद्दामा तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाइएको थियो।

अख्तियारले विमानस्थल निर्माणमा आर्थिक अनियमितता, लागत वृद्धि तथा प्रक्रियागत कमजोरीबारे अनुसन्धान जारी राखेको जनाएको छ।