अख्तियारका पूर्वसचिव महेश्वर न्यौपानेसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

होमल्याण्ड खबर

२०८३ जेष्ठ १ गते, शुक्रबार १४:२८ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता प्रकरणमा एक पूर्वमन्त्री, बहालवाला तथा पूर्वसचिवसहित १४ जना र चिनियाँ निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित पूर्वअर्थसचिव शंकरप्रसाद अधिकारी, पूर्वसचिवहरू केवल भण्डारी, महेश्वर न्यौपाने, सुरेश आचार्य तथा हाल बहालमा रहेका सचिव दुण्डुराज घिमिरेलाई प्रतिवादी बनाएको हो । पूर्वसचिव महेश्वर न्यौपाने नक्कली भुटानी शरणार्थी काण्डमा पनि मुछिएका थिए ।

उनी अख्तियारमा बसेर काम गरिसकेका सचिव पनि हुन् । साथै उनले गृहसचिव भएर पनि काम गरेका थिए । न्यौपानेले भान्जा सुजन पौडेलको नाममा अकुत सम्पत्ति थोपारेको समेत विभिन्न सञ्चार माध्यममार्फत समाचार सार्वजनिक भइसकेका छन् ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकद्वय प्रदीप अधिकारी र सञ्जिव गौतम, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याललगायत अन्य व्यक्तिहरू र चिनियाँ कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड तथा त्यसका प्रतिनिधिविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

अख्तियारका अनुसार विमानस्थल निर्माणका क्रममा मूल सम्झौताविपरीत ठेकेदार कम्पनीलाई अवैध रूपमा कर छुट दिइएको र त्यसबाट राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको निष्कर्ष निकालिएको छ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार मुद्दा दर्ता भई हाल रूजु प्रक्रियामा रहेको छ। अख्तियारले यसअघि २१ मंसिरमा पाँच पूर्वमन्त्रीसहितविरुद्ध मुद्दा दायर गरेको थियो भने ८ चैतमा पनि पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित अर्को प्रकरणमा छुट्टै मुद्दा दायर गरेको थियो ।

आज दायर गरिएको मुद्दा यस श्रृंखलाको तेस्रो चरणको कारबाही भएको बताइएको छ । उनीहरुमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बराबर बिगो कायम गरिएको अख्तियारले जनाएको छ ।