११ मंसिर २०८१, मंगलवार
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ ।
स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र सो कम्पनीको शेयर दोस्रो बजारमा कारोवार हुनेछ ।
स्टकका अनुसार १० अर्ब ५९ करोड बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आउन लागेको हो । कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो ।
बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो । कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो ।
कम्पनीमा ५१ संस्थापक र ४९ प्रतिशत साधारण शेयर रहेको छ । स्टकका प्रवक्ता पराजुलीले ‘धितोपत्र सूचीकरण नियमावली अनुसार’ कागजात अध्ययन गर्न एक महीना लाग्ने भए पनि सात दिनभित्र सूचीकरण गर्ने तयारी गरिएको छ ।
शुरुको कारोवार मूल्य के कति हुने भन्नेबारेमा भने स्टकले केही जानकारी दिएको छैन । शेयर बजारमा नेपाल टेलिकम पछिको ठूलो मात्राको शेयर सूचीकरण हुन लागेको हो । टेलिकमको कूल १५ करोड कित्ता शेयर सूचीकृत छ ।