प्रधानमन्त्रीद्वारा सुख्खा बन्दरगाहको शिलान्यासः स्थानीयले गरे विरोध प्रदर्शन

होमल्याण्ड खबर

२०७५ माघ ३ गते, बिहीबार १४:२७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन् । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित चोभारमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहको प्रधानमन्त्री ओलीले बिहीबार शिलान्यास गरेका हुन् ।

स्थानीयहरुले आफ्ना मागहरुको सम्बोधन नगरी बन्दरगाहको शिलान्यास गरेको भन्दै विरोधमा उत्रेका छन् । शिलान्यासका क्रममा चोभार संरक्षण समितिको अगुवाइमा भएको विरोधका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा इन्द्र महर्जन, ज्ञानेन्द्र महर्जन, अमकण कर्माचार्य, दीपक महर्जन, मिलन थापालगायत रहेका छन् ।

हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गा समस्या, कर्मचारीको समस्या र स्थानीय जनताको माग समाधानपछि मात्रै सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धताविपरीत बिहीबार प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणको शिलान्याय गर्ने कार्यक्रम तय भएकाले विरोधमा उत्रिनु परेको चोभार संरक्षण समितिका संयोजक पञ्चलाल महर्जनले जानकारी दिए ।

विश्व बैंकको १ अर्ब २८ करोड रुपैयाँ सहयोगमा बन्दरगाह निर्माण गर्न लागिएको हो ।