१३ बैशाख २०८३, आईतवार
सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट चालु आर्थिक वर्षको शुरु छ महिनामा नौ अर्ब ९९ करोड ६७ लाख बराबरका विभिन्न मालसामान आयात भएको छ।
सामान आयातवापत करीब दुई अर्ब ४१ करोड ४१ लाख ८३ हजार राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। देशका अन्य सीमा नाका जस्तै कैलाली भन्सार कार्यालयबाट पनि बर्सेनि आयात बढ्दै गए पनि निर्यात वृद्धि हुनसकेको छैन।


चालु आवमा सबैभन्दा बढी असोज महीनामा ५७ करोड दुई लाख २७ हजार राजश्व सङ्कलन भएको छ। यस्तै भदौमा रु ३८ करोड १५ लाख ५२ हजार राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले बताए।
आयातित समानमध्ये सबैभन्दा बढी पेट्रोल र डिजेल रहेको छ। यो अवधिमा दुई अर्ब ५० करोडको डिजेल र रु ६४ करोड ७९ लाखको पेट्रोल आयात भएको छ। त्यस्तै खाद्य सामग्रीमध्ये सबैभन्दा बढी बिस्कुट मात्रै रु ३३ करोड ४८ लाख ६७ हजार मूल्यको आयात भएको छ। भन्सारमार्फत आयात हुने अन्य मुख्य १० वस्तुमा चामल, पापड, सुर्तीजन्य पदार्थ लगायतका छन्।
चालु आवको हालसम्म रु ३९ करोड ५६ लाख छ हजार बराबरको मात्रै निर्यात भएको छ। निर्यात भएका प्रमुख वस्तुमा कत्था, खयर लगायत छन्। गत आर्थिक वर्षमा कार्यालयले रु तीन अर्ब ८७ करोड राजश्व सङ्लन गर्ने लक्ष्य राखेकोमा रु चार अर्ब २० करोड राजश्व सङ्कलन गरेको थियो। चालु आर्थिक वर्षका लागि कार्यालयले पाँच अर्ब ३७ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ।