१२ मंसिर २०८१, बुधबार
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानकीले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा मन्त्री खनालले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन् ।
यसअघि चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने गरी पुस ४ गते सहमति गरिसकिएको छ । सो परियोजनाका लागि नेपालका किसान र प्राविधिक कर्मचारीका लागि ६० जनालाई चीन लगेर र अन्य २४० जना किसानलाई नेपालमै तालिम दिइने सहमति दुई देशबीच भएको छ । हाल निकै कम संख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेको भन्दै त्यो संख्या बढाउन आग्रहसमेत गरेका छन् ।
नेपालका हिमाली र पहाडी जिल्लामा प्रयोग हुने कृषि औजारहरू चीनमै बनेकाले त्यसको अध्ययनका लागि पनि पढाई र तालिम फलदायी हुने भनाइ मन्त्री खनालको छ । जवाफमा राजदूत होउले थप छलफल गरेर छिट्टै नेपालले प्रस्ताव गरेअनुसार सहमति गर्न चीन तयार रहेको बताइन् । उनले नेपाल र चीनबीच पुरानो मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै आफ्नो कार्यकालमा त्यसलाई थप उचाइमा पु(याउने प्रतिबद्धता जनाएको कृषि तथा पशुपंक्षी विकासमन्त्रीको सचिवालयले जनाएको छ ।
चीनले कृषि र प्रविधिमा निक्कै फड्को मारेको सुनाउँदै राजदूत होउले एक असल छिमेकीको नाताले त्यो शीप नेपालका लागि पनि फलदायी हुने धारणा राखेको मन्त्री खनालका प्रस संयोजक बोमलाल गिरीले बताए । भेटमा मन्त्री खनालले कृषि क्षेत्रमा सहयोग आदान–प्रदान गर्न कृषि मन्त्रालय, परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच समन्वयकारी भूमिका निर्वाह गर्न एक कार्यदल बनाउन पनि प्रस्ताव गरेका छन् । नयाँ राजदूतको रूपमा नियुक्त भएर आएपछि मन्त्री खनाल र राजदूतबीच पहिलो पटक शिष्टाचार भेट भएको हो ।