९ मंसिर २०८१, आईतवार
सिर्जना फाइनान्सको सत्रौं वार्षिक साधारणसभाले राष्ट्रियस्तरको फाइनान्स बन्ने प्रस्ताव पारित गरेको छ । विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा शनिबार सम्पन्न भएको साधारणसभाले निक्षेप, कर्जा र मुनाफाको हिसाबले नेपाल राष्ट्र बैकबाट स्वीकृत फाइनान्स कम्पनीहरुमध्ये सिर्जना फाइनान्स लिमिटेड उत्कृष्ट रहेको उदघोष गरेको छ ।
फाइनान्सका सञ्चालक समिति अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा सुरु भएको सो सभामा सञ्चालक सुवास आचार्य र प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाइँले सिर्जना फाइनान्सको विगत र भावी योजनाहरुका बारे चर्चा गरेका थिए । कम्पनीका सेयर सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले पूर्वको धरोहर सिर्जना फाइनान्सले गरेको प्रगति लोभलाग्दो रहेको बताए । यस्तै, विराट व्यापार संघका अध्यक्ष शिव रिजालले साना तथा मझौला व्यवसायीबीच स्थापित र सहयोगी रहेको सिर्जना फाइनान्सले सो कार्य निरन्तरता दिने विश्वास व्यक्त गरे ।