गरिबी निवारण कोषको भ्रष्टाचारबारे अनुसन्धान गर्न सतर्कता केन्द्रको सुझाब

होमल्याण्ड खबर

२०७५ माघ २७ गते, आईतवार १०:२७ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको गरिबी निवारण कोषमा व्यापक अनियमितता भएको भेटिएको समाचार आजको नयाँ पत्रिकाले तेस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, राष्ट्रिय सतर्कता केन्द्रले छानबिनमा करोडौं अनियमितता खुलेको भन्दै अधिकारसम्पन्न निकायबाट थप अनुसन्धान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरेको छ ।

विपन्न समुदायको आयआर्जनमा सघाएर विकासको मूलधारमा ल्याउने उद्देश्यले ०६० मा स्थापना भएको गरिबी निवारण कोषले अहिलेसम्म ३३ अर्ब ४६ करोड परिचालन गरेकोमा २५ अर्ब ९ करोड खर्च गरिसकेको छ ।

तर, खर्चको ठूलो हिस्सा अनियमितता भएको नमुना छानबिनमै भेटिएको सतर्कता केन्द्रको ठहर छ ।

कोषले कार्यक्रम सञ्चालनमा कानुन पालना नगरेको, विधि र प्रक्रिया पूरा नगरी अपारदर्शी र छलछामपूर्ण काम गरेको तथा अनुगमन पनि कागजी मात्रै भएको केन्द्रले जनाएको छ ।