९ मंसिर २०८१, आईतवार
बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको कोलकाताबाट सुरु गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमार्फत् कम्पनीले पश्चिम बंगालको राजधानी कोलकाता उडानका लागि आफ्नो अधिकारिक कार्यालय पनि खोलि सकेको जनाएको छ ।
कम्पनीले २०७६ बैशाख २ बाट कोलकाता उडान भर्ने जनाएको छ । कोलकाता–काठमाडौं सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हुनेछ ।
कम्पनीले सुरुमा हप्ताको तीनदिन (सोमबार, बुधबार र शुक्रबार) उडान सञ्चालन गर्नेछ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर ७२ बाट हुनेछ ।
यात्रुको समय र पैसाको बचत होस् हेतुले बुद्धले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेज पनि सञ्चालन गरेको छ । कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेज बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले गर्ने कम्पनीले जनाएको छ ।
व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् यसले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास लिएको छ ।
बुद्धले एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि २ उडान भरिरहेको छ ।