छोरीको खुसीमा खाडीको दुःख भुल्दै

होमल्याण्ड खबर

२०७५ असार १४ गते, बिहीबार ०६:४३ मा प्रकाशित

 

 

बाबुआमाको साथमै रहेर स्कूल जीवन बिताउने रहर सबैलाई होला । अनिशा भोलनलाई (तमाङ) पनि । तर बाबु रोजगारीकै लागि कुवेत जान बाध्य थिए । तैपनि, अनिशाको बाल मस्तिष्कले बाबुको उपस्थिति खोजिरहन्थ्यो । जब स्कूलको अभिभावक दिवसमा साथीहरुलाई बाबुको साथमा देख्थिन् । अनिशा भने बाबुको याद निक्कै उदास बन्थिन् ।

देशभरबाट अनिशा जस्तै यसपटकको एसइइ परीक्षामा नियमिततर्फ ४ लाख ५१ हजार ५ सय ३२ जना परीक्षामा सहभागी भएका थिए । ती मध्ये धेरैको बाबु आमा अनिशाको जस्तै बिदेशिन बाध्य छन् ।

अनिशा बिदेशिएका बाबुको यादमा प्रायः निक्कै उदास बन्थिन् । तर यस पटक बाबु आमासँग स्कूलमा भएको भेट भने निक्कै उत्सवमय देखिन्थ्योे । नहोस् पनि किन ? किनकि, बाबुको यादमा हुने उदासीपनलाई अनिशाले उर्जामा बदल्न सफल भएकी थिइन् । अर्थात उनले यसपटकको एसइइ परीक्षामा जिपिए ४ ल्याइन् ।

सिन्धुलीबाट सर्लाही सर्नु । सर्लाहीबाट काठमाण्डौ हँुदै कुवेत पुग्नुपर्ने बाध्यता दैनिक गुजाराकै निमित्त थिए अनिशाका बाबु लागि । उनी जस्तै आफूमा स्तरीय शिक्षाको अभाव महशुश गर्दै धेरै नेपाली अभिभाावक खाडी जान बाध्य छन् ।

तर यसपटकको भने अभिभावकसँगै स्कूलमा अनिशा खुशी भइन् । उनले आफनो बाबुसँगै खुशी साट्ने मौका पाइन् । स्कूलले आयोजना गरेको बधाइ कार्यक्रममा । छोरीले परीक्षा राम्रो गरेको खबरले उनलाई बिदा लिएरै स्वदेश आउन मन लागेछ । छोरीको खुसी र बिदेशको पीडा एक्कै पटक महशुस गरिरहेका थिए । खुसीको क्षणमा पनि गम्भीर देखिएका अनिशाका बाबुले भने ‘अब हाम्रा नानीहरुले खाडीको घाममाा पीडा खप्न नपरोस् ।’

यस पालि, सहभागी मध्ये (जीपीए) मा ४ ग्रेड ल्याउने ७४ जना मात्रै छन् । ३.६ देखि ४ ग्रेड प्वाइन्ट (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन् । ४६ हजार १ सय ३० जनाले ३.२ देखि ३.६ जीपीए ल्याएका छन् । पत्रिकामा ३.६ ग्रेड प्वाइन्ट (जीपीए) ल्याएका स्कूलले विज्ञापनमा लाखौंको खर्च गरेको संकेत गर्दै ग्रीनफिल्ड एजुकेसन फाउण्डेसनका प्रिसिपल खड्ग बहादुर बस्नेतले भने स्तरियताका लागि हामी विद्यार्थीसँगै खुसी हुने छौं । अन्यत्र होइन ।

अनिशाको राम्रो नम्बर ल्याउने तरिका
स्कूलमा भैरहने परीक्षा र सरहरुको गाइडलाइनका कारणलाई नै आफु सफल भएको बताउने अनिशाले परीक्षाको समयमा मात्रै भन्दा पनि लामो समयदेखि तयारी गरेकी थिइन् । ‘नौ कक्षादेखि नै तयारीका साथ मेहेनेत गरेकी थिएँ ।’ अनिशाले भनिन् ।
परीक्षामा प्रश्नको उत्तर दिदा आफ्नो विचार समेट्दै मौलिक रुपमा दिनु पर्ने, साथै चित्र र तथ्य पनि सामेल गर्नु पर्ने अनिशाको अनुभव छ । सरहरुले हामीलाई स्कूलमा तिमीहरुले सक्छौ भन्दै हौसला दिनुहुन्थ्यो । ‘नभन्दै कन्फिडेन्स् बढेर गयो ।’ स्कूलको वातावरण र शिक्षकको व्यावहार महत्वपूर्ण हुन्छ । ‘घरमा पनि रुटिङअनुसार पढियो ।’ अनिशाले भनिन् ‘राम्रो विद्यार्थीसँग तुलना गरेर अझ आशा र उर्जा भरिदिनु हुन्थ्यो ।’

अबको रोजाइ
अब नयाँ बिषय रोज्नेहरुका सवालमा शिक्षाविद् डा. नम्रता पाण्डेको सुझाव छ, नानीहरू जे मा रमाउँछन् त्यो विषय पढ्ने वातावरण मिलाइनुपर्छ । अगाडिको अध्ययन र विषय छनौट पनि जीपीएकै आधारमा हुने हुँदा एसईईको परीक्षा प्रणालीको महत्व रहेको हो । यसर्थ पनि सबै विद्यार्थी समान भन्ने भेटिन्न ।

अभिभावकको तर्फबाट हेर्ने हो भने पढेर सकेपछि राम्रो जागिर पाउन, स्वदेशमै होस् या विदेश गएर राम्रो जागिर खाएर टन्न पैसा कमाउन सकोस् भन्ने उद्देश्यले आफ्ना नानीहरूले चाहेको विद्यालयमा अतिरिक्त शुल्क तिरेर शिक्षामा लगानी गरेको पाइन्छ । हाम्रो राष्ट्रिय गरिबी, व्यवस्थापनको अभाव, स्रोतसाधनको उपयोगमा अज्ञानता, औद्योगीकरण र रोजगारीको अभाव र जीवन जिउने वैकल्पिक आधार नहुँदा विदेश पलायन हुने सोच राख्नु सामान्य हुन थालेको छ ।
हाम्रा नानीहरूले कसरी शारीरिक, मानसिक, सामाजिक, नैतिक र आध्यात्मिक सबै आयामबाट सन्तुलित जीवन जिउन सक्छन् त्यो शिक्षा हामीले उनीहरूलाई दिनुपर्छ । जीवनमा आवश्यक भौतिक सम्पत्ति कमाउने र आफ्नो वास्तविक खोज के हो त्यसको पनि बोध हुने सिकाइ र शिक्षा आजको आवश्यकता भएको शिक्षाविद् डा. पाण्डेको धारणा छ ।